जनता टाइम्स

१२ पुष २०७९, मंगलवार १८:५०

बालकोट जान तयार भएर बसेको थिएँ, प्रचण्ड त मलाई थाहै नदिई एक्लै पुग्नुभएछ : माधव नेपाल


काठमाडौं, पुस १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा संगै जाने सहमति तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको गुनासो गर्नुभएको छ ।

सत्ता गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि नेपालले आफूहरुलाई कांग्रेस र माओवादी दुवै पक्षबाट धोका भएको भन्दै बैठकमा यस्तो धारणा राख्नुभएको हो ।

नेकपा एमालेका बरिष्ठ नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानकै लागि अध्यादेश ल्याएर एमाले बिभाजन गरी पार्टी दर्ता गर्नुभएको थियो । पछिल्लो घटनाक्रममा कांग्रेसले अपमान गरेको बताउँदै नेपालले बैठकमा प्रचण्डबाट पनि धोका भएको गुनासो गर्नुभएको हो ।

एमाले र माओवादीबीच सत्ता गठबन्धन भएपछि नेकपा एकीकृत समाजवादी पार्टी निकै मर्मामत बनेको तथ्य पनि नेपाल स्वयंले खोल्नुभएको छ । चुनावमा ठूलो दल बनेपछि देउवा कसैको कुरा सुन्ने अवस्थामा नरहेको र आफ्नो कुरा सवैले मान्नुपर्ने जसरी उर्दी गर्न थालेको घटना पनि नेपालले सुनाउनु भएको छ ।

यस्तो छ बालकोटबारे माधवको कुरा

देउवाले अपमान गरेपछि प्रचण्डजी र मबीच हामी पनि पीडित उहाँहरु पनि पीडित, हामी पनि केपी शर्मा ओली पीडित, उहाँहरु पनि पीडित । पीडित पीडित एकै स्थानमा भएपनि विद्रोह गरिहाल्नुपर्छ भन्नेभयो । बालुवाटारमा बसेर एकछिन कसरी अघि जाने भन्ने विषयमा कुराकानी भयो । उहाँले के भन्नुभयो भने,’तपाईं, म र केपी ओली छुट्टै बसेर कुराकानी गरौं, कुरा गरेर नयाँ ढंगले अघि बढौं ।’ मैले हुन्छ भनें ।’ मिलेर फेरि केपी शर्मा ओलीसँग कुरा गरौं भनेको हो । उहाँले हुन्छ भन्नुभयो ।

त्यो भनेर म पार्टी अफिसमा आएँ, कुरा गर्नुपर्यो भनेर तुरुन्तै अपर्झट बैठक बोलाएँ । प्रचण्डसँगै बालकोट जान तयार भएर बसें, तुरुन्तै रवि लामिछानेलाई फोन गरे, राजेन्द्र लिङदेनलाई फोन गरे, उपेन्द्र यादवलाई फोन गरेर भनें– बसेर कुरा गरौं । यादवजीले म आउँछु भन्नुभयो । राजेन्द्रजीको फोन उठेन, रवि लामिछानेले म बालकोट लाग्दैछु कमरेड भन्नुभयो, बालकोटले तानिहालेछ भन्ने लाग्यो मलाई, ठिकै छ बस्नुस् भनेँ । तर प्रचण्डजी त मलाई पत्तै नदिई एक्लै बालकोट पुग्नुभएछ । त्यहाँ सहमति भइसकेको कुरा देउवाकै फोनबाट पत्ता लाग्यो । ठ्याक्क चार बजे शेरबहादुरजीको फोन आयो । ’माधवजी, तपाईंले प्रचण्डजीलाई तुरुन्त फोनगरेर पहिलो प्रधानमन्त्री तपाईं हो भनिदिनुपर्यो’ भन्नुभयो । समय बितिसकेपछि, घर्की सकेपछि, हस्ताक्षर गरिसकेपछि राष्ट्रपतिकहाँ हिँड्ने बेलामा तपाईंले भनेर के हुन्छ ? समयमा बुद्धि पुर्याउनुछैन’ भनेर मैले भने ।