जनता टाइम्स

१३ पुष २०७९, बुधबार ०७:०४

चिकित्सक संघको बर्तमान नेतृत्व डा. केसीले आन्दोलन गर्दामात्रै ब्युँझन्छ : डा. पौडेल


काठमाडौं, पुस १३ । नेपाल चिकित्सक संघ (एनएएम) को आसन्न निर्वाचनका लागि पेशागत समावेसी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार रहेका डा. सन्तोष पौडेलले संघको अहिलेको नेतृत्व डा. गोविन्द केसीले अनशन सुरु गर्दामात्रै ब्युँझने गरेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित समूहको अवधारणापत्र सार्वजनिक कार्यक्रममा बोल्दैं पौडेलले अरु बेला एनएमएको नेतृत्व सुतेर बस्ने गरेको बताउनु भयो । ‘अहिलेको एनएमएको नेतृत्व डा. गोविन्द केसीले अनशन सुरु गरेपछि मात्रै ब्युझन्छ,’ पौडेलले भन्नुभयो, ‘अरु बेला सुतेर बस्छ । यत्रा चिकित्सकहरुको साझा संघ चिकित्सकका समस्याका पर्दा देखिदैंन् ।’

डा. पौडेलले संघले सबैलाई समेट्न नसकेका कारण अहिले छुट्टा-छुट्टै संगठन बनाउने ट्रेण्ड बढ्दैं गएको भन्दैं असन्तुष्टि समेत जनाउनु भयो । कार्यक्रममा बोल्दैं एमाले निकट राष्ट्रिय चिकित्सक संघका अध्यक्ष प्रा.डा. जागेश्वर गौतमले डा. सन्तोष पौडेल नेतृत्वको टिमलाई सघाउन आग्रह गर्नुभयो । ‘यो टिम युवा जोशले भरिएको र समावेसी छ,’ गौतमले भन्नुभयो, ‘अब एनएमएजस्तो पुरानो पेशागत संगठनमा पनि परिवर्तन जरुरी छ । जो यो टिमबाट मात्रै सम्भव छ ।’

पेशागत समावेसी समूहको निर्वाचन परिचालन कमिटीका संयोजक डा. कालुसिंह खत्रीले एनएमएमा सुधार र परिवर्तनका लािग डा. पौडेल नेतृत्वको प्यानलको विकल्प नरहेको बताउनु भयो ।

‘एनएममा परिवर्तन र रुपान्तरणका लागि डा. सन्तोष पौडेल नेतृत्वको टिमको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘यो टिम नीतिगत तहमा चिकित्सकको हकहितका लागि काम गर्न लागि रहनेछ ।’ उहाँले आफूहरु एनएमएको नेतृत्वमा रहँदा जुनसुकै पार्टीले सरकार बनाउँदा पनि चिकित्सकका सवालमा आवाज उठाइरहने बताउनु भयो ।

डा. पौडेलले कार्यक्रममा चिकित्सका साझा सवालहरु समेटिएको ७ एजेण्डा भएको अवधारणापत्रमा सार्वजनिक गर्नुभएको छ । पौडेल समुहले १० वर्षमा सबै डाक्टरलाई घर र गाडीको ब्यवस्था गर्ने बताएको छ ।

समा सबै डाक्टर, एक पटक सरकारी डाक्टर, चिकित्सक एक भूमिका अनेक हुने भएकाले विशिष्टीकृत चिकित्सा सेवाका लागि छुट्टै चिकित्सा सेवा ऐन ल्याउन पहल गर्ने, पढाइमा सधैं अब्बल रहेका चिकित्सकलाई कमाइमा सबल बनाउन भूमिका खेल्ने, सबै चिकित्सकलाई रोजगारीः १० वर्षमा घर गाडी, वैज्ञानिक ड्युटी आवर, अनिवार्य फोर्स लिभ, एक स्वास्थ्य संस्था, एक चिकित्सक, चिकित्सा शिक्षा : सुधार र रोजगारीको अवसर र संघीयता कार्यन्वयनको आधारः एनएमएमा संगठनात्मक सुधारलाई प्राथमिकतामा साथ अगाडि सारिएको छ ।

डा. पौडेल अध्यक्ष रहेको पेशागत समावेसी मधेश प्रदेशको उपाध्यक्ष डा. महेश महासेठ, वागमती प्रदेश उपाध्यक्षमा डा. सन्जय ठाकुर, गण्डकी प्रदेश उपाध्यक्षमा डा. विकास गौचन र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. निरज अर्याल उम्मेदवार हुनुहुन्छ । यसैगरी, संघको प्रभावशाली पद मानिने महासचिवमा डा. रक्षा श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । त्यसैगरी, संघको ६ जना सदस्यहरुका लागि डा. स्मृति महत, डा. अभियान गौतम, डा. रामकृष्ण आचार्य, डा. पदम नेपाली, डा. रमेश श्रेष्ठ र डा. सुरेन्द्र यादव उम्मेदवार हुनुहुन्छ ।