जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १६:५६

एनआरएन यूकेको निर्वाचन तालिका सार्वजनिक : यस्तो छ उम्मेद्वारी दर्तादेखि मतदानसम्मको तालिका


फान्वोरो, साउन २६

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन तालिका सार्वजनिक भएको छ । आज फार्नबरोस्थित भिलेज होटेलमा आयोजित एनआरएन युकेको जानकारी सभामा निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो । घोषणा अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता भने अगस्ट १८ तारिखमा नै गराइने भएको छ ।

अगस्ट ११ को साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन, १३ अगस्ट दिउँसो ३ बजेसम्म नामावली सच्चाउने एवम् थप कागजात बुझाउने, १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सोहि दिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

त्यसैगरी १८ अगस्टको बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो २ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, साँझ ५ बजेसम्म दाबी विरोध र साँझ ८ बजे उम्मेदवारहरुको दोस्रो नामावली प्रकाशन गरिने भएको छ। उम्मेदवारी फिर्ताको लागि २० अगस्टको दिउँसो १ बजेसम्मको समय दिइनेछ भने सोहि दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मतदानको कार्यक्रम सेप्टेम्बर १४ को बिहान ८ देखि साँझ ८ बजेसम्म रहनेछ । निर्वाचन समितिले १३ हजार ८९० मतदातालाई बेलायत भरमा १ दर्जन मतदान केन्द्रहरु राख्नुपर्ने अवस्था रहेको बताए पनि केन्द्रहरु कहाँकहाँ रहने निर्णय भइनसकेको बताएको छ । निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड डमर घले (एमबिई) र सहसंयोजक शिवजी श्रेष्ठले निर्वाचन तालिका सार्वजनिक गर्दै स्वतन्त्र र निश्पक्ष निर्वाचनको लागि कुनै कसर बाँकी नराख्ने संकल्प लिँदै आफुहरु खटिएको जानकारी गराएका थिए ।

प्रवक्ता रमेश सराङकोटी र सचीव तारानाथ भण्डारीले संचालन गरेको सो कार्यक्रमको अध्यक्षता एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले गर्नुभएको थियो । एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार कुल आचार्य, महासचिवका हेमराज शर्मा, संरक्षकहरू सुर्य गुरूङ, योगेन क्षत्री उपस्थित उक्त कार्यक्रममा विधान संशोधन समितिका संयोजक योगेन क्षेत्रीद्धारा प्रस्तुत विभिन्न संशोधन प्रस्तावमाथि सहभागीहरुले आ–आफ्ना सुझाव पेश गरेका थिए ।

प्राप्त सुझावहरुलाई मनन गर्दै संशोधनको प्रस्ताव आगामी अधिवेशनमा पेश गर्ने संयोजक क्षेत्रीले बताउनुभयो । साथै आइसिसी पूर्व सल्लाहकार एवं आसन्न निर्वाचनमा आइसिसी महासचिवका उम्मेदवार डा. हेमराज शर्माले विधान संशोधनका विषयमा जानकारीमूलक सम्बोधन गनुृभएको थियो ।