जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार ०८:१४

संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली


काठमाडौं, १५ पुस । एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गर्नुभएको छ ।

डेढ वर्षअघि एमालेसँग विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई फेरि पूरानै घरमा फर्काउन आन्तरिक छलफल भइरहेको बताइँदा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताउनुभएको हो । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

नेता ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्नुभएको छ । ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उहाँले लेख्नुभएको छ।