जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १०:३०

प्रदेश १ को कांग्रेस संसदीय दलमा सिटौलानिकट उद्धव विजयी, कार्की र रायमाझीले धोका दिँदा देउवाका उम्मेदवार पराजीत


बिराटनगर, पुस १५ । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी हुनुभएको छ । थापा १८ मत प्राप्त गरी दलको नेतामा निर्वाचित हुनुभएको हो ।

थापासँग भिडनु भएका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहनुभएका थापा कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला निकट नेता हुन । अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइराला निकट नेता हुन ।

पाँचदलीय गठबन्धन भत्किएसँगै एकाएक यहाँको संसदीय दलको समीकरण बदलिएको थियो । यसअघि यहाँ सिटौला पक्षमा खुलेका ९ सांसद थिए । पछिल्लो समयमा देउवाका विश्वास पात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीले थापालाई सघाउनु भएको हो । यस्तै संस्थापन पक्षकै प्रभावशाली नेता तथा प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पनि थापालाई साथ दिनुभएको हो ।