काठमाडौं, पुस १६ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि गम्भीर आरोप लगाउनु भएको छ । पूर्वमन्त्री बस्नेतले आरजु र खाँणले ठूला आयोजनामा अर्बौको चलखेल गरेको बताउनु भएको हो ।
आरजु र खाँणहरूले निर्वाचनपछि पनि आफूहरूकै सरकार बन्ने भन्दै ठूला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रूपमा ६÷७ अर्ब रुपैयाँ बुझेको र अहिले सरकारबाट बाहिरिएकोले फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ । नेता बस्नेतले देउवा नेतृत्वको यसअघिको सरकारलाई ‘भाउजुको सरकार’ भन्ने मानक रहेको तथ्य पनि खुलाउनु भयो ।
‘देउवा सरकारले विकास निर्माणको पनि केही काम गरेको थिएन। ठूला–ठूला आयोजनाको सन्दर्भमा चाहे त्यो एनसेलको सन्दर्भ होस, चाहे त्यो सूर्यविनायक–धुलिखेल सडकको सन्दर्भ होस, यी तमाम सनदर्भमा अर्बौको सेटिङ थियो। भाउजुको सरकार अथवा आरजु देउवाज्यू, अथवा बालकृष्ण खाणजीलगायतका साथीहरूको सेटिङमा अब सरकार बन्नेछ र मिलोमतोमा तपाईँहरूलाई ठेक्कालगायत दिन्छौं भनेर ६/७ अर्ब उहाँहरूले लिनुभएको छ र अहिले त्यो पैसा चाहीँ फिर्ता गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरा अहिले चर्चामा आएको छ,’ बस्नेतले भन्नुभयो ।
नेता बस्नेतले यसअघिको देउवा सरकारले मुलुकमा संस्थागत ठगी गरेको आरोप पनि लगाउनु भयो । ‘विशेषगरेर भन्सार भएका जिल्लाहरूमा सीडीओ, एसपीहरू सबै सुरुवाहरू सेटिङमा हुने गर्दथ्यो। भन्सार प्रमुखहरू सेटिङमा हुने गर्दथे । र, वैद्य च्यानलबाट सामानहरू आयात नगरी अवैध च्यानलबाट सामान आयात गर्ने, भन्सार छली गर्ने र राजश्व छली गर्ने काम भएको थियो । एक ढंगले भन्ने हो भने राज्य संस्थागत ठगी धन्दामा संलग्न भएको थियो। जसको कारण हाम्रो अर्थतन्त्र टाँट पल्टिएको थियो। पुँजीगत खर्च न्यून भैरहेको छ । आजको अर्थमन्त्रीलाई समेत चूनौति थपिदिएर उहाँहरू जानुभयो,’ बस्नेतले भन्नुभयो ।
उहाँले यसअघिको सरकारप्रति व्यंग्य गर्दै ‘मेकिङ आरजु देउवा, नट मेकिङ नेपाल’ भएको टिप्पणी गर्नुभयो । नेपालको कम्युनिष्टको हिसाबले सबैभन्दा ठूलो दल भएकोले एमाले र यसको नेतृत्व केपी ओलीले मुलुकलाई सही दिशामा लैजानको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको पनि उहाँले बताउनु भयो ।
‘हामी वाम गठबन्धन हुँदै एकता प्रक्रियासम्म लैजानुपर्छ भन्ने पक्षमा छौं । हाम्रो श्रद्धय अध्यक्ष कमरेडले जनतामा पलाएको आशाको दियोलाई निभ्न दिनुहुँदैन,’ बस्नेतले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्