काठमाडौं, पुस १६ । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन हुनुभएको छ । काठमाडौंमा आज बसेको दलको बैठकले जमरकट्टेललाई दलको नेता चयन गरेको हो ।
प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप जमरकट्टेल सर्वसम्मत रुपमा दलको नेता चयन हुनुभएको हो ।
पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको दलको नेताका अर्का आकांक्षी युवराज दुलालले बताउनु भयो । जमरकट्टेल यसअघि पनि दलको नेताकै भूमिकामा हुनुहुन्थ्यो ।
आफ्नो असहमतिबीच जमरकट्टेलको नाम पारित भएपछि सहयात्रीले असहमति जनाउनु भएको छ । उहाँले दलमा मतदानको माग गरे पनि नेतृत्वले सुनुवाइ नगरेको हो । दलको नेतामा निर्वाचन माग्नुभएका सहयात्रीले आफ्नो माग पूरा नभएपछि फेसबुकमार्फत छिर्के लगाएर खेल जितिए पनि मन जित्न नसकिने बताउनु भएको छ ।
‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो । छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन । जबसम्म मन जितिँदैन केही पनि जितिँदैन । म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ,’ सहयात्रीले लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्