जनता टाइम्स

१६ पुष २०७९, शनिबार १८:३४

पहिलो बैठक नबस्दै धरापमा पर्यो यी २ सांसदको पद


पर्सा, पुस १६ । बागमति प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद र मधेस प्रदेशसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसदको पद धरापमा परेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा जरायोको शिकार गरेको घटनामा दुई प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्ष पनि अनुसन्धानको घेरामा परेपछि पद धरापमा परेको हो ।

निकुञ्जले बागमती प्रदेशसभा सदस्य श्याम खड्का, मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र उहाँका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई घटनाको अनुसन्धानका क्रममा बोलाएको छ । प्राप्त प्रमाणको आधारमा प्रारम्भिक चरणमा निकुञ्जले बोलाएको हो ।

गत पुस ४ गते राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका शिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको थियो । केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए ।

उनीहरुलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मारेर शिकारमा प्रयोग हुने सामाग्री बरामद गरेको थियो । सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन शिकारमा संलग्न रहेको आरोपमा पाँच जना, दुईवटा गाडी, शिकार खेल्न प्रयोग हुने सामाग्री, शिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो । सोही घटनामा दुई सांसद र पूर्वअध्यक्ष तानिएका हुन ।

अनुसन्धानका लागि बोलाइएका खड्का काठमाडौं क्षेत्र नं ५ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कांग्रेस नेता हुन । निकुञ्जले कांग्रेस नेता खड्काको नाममा रहेको बन्दुक बरामद भएपछि अनुसन्धानका लागि बोलाइएको हो । काठमाडौं निवासी खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछा पोखरी रहेको छ ।

यस्तै निकुञ्जले मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसबाट गाडेको अवस्थामा चित्तलको टाउको, गोली गठ्ठा, नाइट भिजन बाइनाकुलर लगायत शिकारमा प्रयोग हुने सामाग्री बरामद गरेको थियो । सोही आधारमा उहाँलाई पनि बोलाइएको हो । जयसवाल मंसिर ४ गते सम्पन्न निर्वाचनमा पर्सा क्षेत्र नं ३ (क) बाट निर्वाचित स्वातन्त्र सांसद हुन ।

शिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको तथ्य फेला परको छ । छड सिमेन्टको कारोबार गर्ने जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा छ । त्यसैले प्रदीपलाई समेत किन बोलाइएको छ ।

निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ (पाँचौ संशोधन) अनुसार वन्यजन्तु चोरी निकासी मुद्धा अन्तर्गत यो घटनाको अनुसन्धान गरिरहेको छ । संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।