काठमाडौं, पुस १६ । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता मुकुन्द न्यौपानेले नेकपा एमालेसँग एकता र सरकारलाई समर्थन गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।
आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै बरिष्ठ नेता न्यौपानेले कसैको पदीय कुण्ठाका आधारमा सिंगो आन्दोलन र नेता–कार्यकर्ताको भविश्य बर्वाद पार्न नसकिने भन्दै यस्तो प्रस्ताव राख्नुभएको हो ।
बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार बरिष्ठ नेता न्यौपानेले बैठकमा आफ्नो धारणा राख्ने क्रममा आफ्नो पदीय आकांक्षा मात्र हेरेर अघि नबढन अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई चेतावनीसमेत दिनुभएको छ ।
‘माधव कमरेड र झलनाथ कमरेडले आफ्नो हैसियत के हुन्छ भनेर हेर्नुभएन, सिंगो कम्युनिष्ट आन्दोलन र मुलुकको भविश्यतिर ध्यान दिनुपर्यो, बिद्रोहको औचित्य पुष्टि भएन, जनताले स्वीकार गरेनन, दण्डित गरे, अव यताउता होइन, नेकपा एमालेसँग एकता र अहिले बनेको सरकारलाई समर्थन गर्नुपर्छ,’ बैठकमा न्यौपानेको प्रस्ताव थियो ।
ती नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार न्यौपानेले आफूले पद पाए पार्टी नै बिलय गराउने, नपाए सिंगो आन्दोलनमाथि नै धोका दिएर अघि बढने खतरनाक प्रकृत्ति नेतृत्वमा रहेको भन्दै सवैलाई सकाउने अभियानमा अव कोही लाग्न नहुनेसमेत बताउनु भएको छ ।
‘पार्टी बिभाजन भनौं कि बिद्रोह भनौं कि नयाँ पार्टी गठन भनौं, कुनै पनि कुराको औचित्य पुष्टि भएन, जनताले अस्वीकार मात्रै होइन, दण्डित नै गरे, अव जनताको आदेशअनुसार पार्टी एकता गर्नुको बिकल्प छैन,’ बैठकमा न्यौपानेको भनाई थियो ।

उहाँले बिगता चुनावपछि माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गलत रहेकोले अडान पुनः दोहोर्याउनु भएको छ । न्यौपानेले माधव नेपालले आफ्नो स्वार्थको लागि सवैलाई सिध्याएको र प्रचण्डले एमालेसँग मिलेर जाने कुरा गर्दाै अहंकार र कुण्ठा पालेर अभियानबाटै छुटन पुगेको भन्दै कडा आलोचनासमेत गर्नुभएको छ ।
आजको बैठकमा बरिष्ठ नेता न्यौपानेसहित घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, केदार न्यौपाने, चुडामणि जंगली, गोबिन्द कोइराला, राजेन्द्र राई, धर्मनाथ साहलगायतले आफ्नो धारणा राख्नुभएको थियो । सवै नेताहरुले माधवलाई नै तारो बनाउँदै न नेतृत्व गर्न सक्ने, न कुनै योजना बनाउन सक्ने भन्दै कुण्ठाले पार्टी नचल्ने बताएपछि बीचैमा माधवले जावफ दिनुभएको समेत ती नेताले बताए ।













प्रतिक्रिया दिनुहोस्