बिराटनगर, पुस १७ । प्रदेश नम्बर १ का प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर प्रदेश सरकार गठनको आव्हान गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले आज आव्हान गर्नुभएको हो । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २४ गते आइतबार बेलुकी पाँच बजेसम्मको समय प्रदेश प्रमुखले दिनुभएको छ ।
‘प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं। १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश १ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केन्द्रमा गठबन्धन भएका कारण प्रदेशमा पनि सोही गठबन्धनको सरकार बन्दैछ। प्रदेश १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने लगभग निश्चित देखिन्छ । सत्तारुढ गठबन्धनमा प्रदेश १ एमालेले लिने सहमति भइसकेको छ ।














प्रतिक्रिया दिनुहोस्