दाङ, पुस १७ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरी चयन हुनुभएको छ ।
दाङको देउखुरीमा आइतबार बसेको एमाले प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा गिरीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै दलको उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन हुनुभएको छ ।
दलका नेतामा निर्वाचित गिरी रुपन्देही २ (क) बाट र आचार्य अर्घाखाँचीको १ (ख) बाट निर्वाचित हुन । गिरी यसअघि प्रदेश सरकारमा वन, वातावरण तथा उद्योगमन्त्री र आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्थ्यो ।
एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सदस्यहरुको भेलाले केन्द्रीय तहको शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गर्दै नेता र उपनेता चयन गरेको बताउनु भयो । दलको नेता चयन गर्न एमालेका महासचिव शंकर पोखरेल, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मासमेत उपस्थित हुनुहुन्थ्यो ।
नयाँ समीकरणअनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैले दाबी गर्दै आएका छन् । एमाले महासचिव पोखरेलले एमाले ठूलो दल भएकाले लुम्बिनीको मुख्यमन्त्री एमालेकै हुने दाबी गर्नुभएको छ । लुम्बिनीमा एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य छन ।













प्रतिक्रिया दिनुहोस्