जनता टाइम्स

२० पुष २०७९, बुधबार १४:३८

धरापमा पर्यो यी एसपीको जागिर


काठमाडौं, पुस २० । तस्करलाई सघाएको आरोपमा पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन । उनलाई जिल्लाबाट तानेर प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको हो ।

प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईका अनुसार एसपी कँडेललाई छानबिनका लागि हेडक्वार्टर बोलाइएको हो । कँडेलले तस्करलाई सघाएको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । एसपी कँडेल २०७८ चैतमा नवलपरासीमा सरुवा भएका थिए ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजनाथ गुप्ताले एक भारतीयलाई करोडौँ रकम ठगेको विषयमा कँडेलले समेत सहयोग गरेको आरोप लागेको छ । गुप्ताकै योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो ।

तर प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी देखिएको र गाउँपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शङ्कास्पद रहेको निष्कर्ष निकालेका थिए ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागूऔषध मुद्दामा सजायको माग दाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो घटनामा एसपी कँडेलको संलग्नता देखिएपछि हेडक्वार्टर तानेर छानविन अघि बढाइएको हो । अघिल्लो सरकारको पालामा नेपाली कांग्रेसका नेताहरुसँग मिलेर एसपी कँडेलले प्रहरीकै बर्दीमा दाग लगाउने अन्य घटना पनि घटाएको उजुरीसमेत परेको छ । प्रहरी प्रधान कार्यालयले सो बिषयमा पनि छानविन गर्ने जनाएको छ ।