जनता टाइम्स

२१ पुष २०७९, बिहीबार १८:१७

जिल्ला प्रशासन काठमाडौंले सुरु गर्यो टाइम कार्ड : अब १५ मिनेटमै राहदानी, एक घण्टामा नागरिकता


काठमाडौं, पुस २१ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड प्रणाली सुरु भएको छ । काठमाडौंले आजदेखि लागू १० किसिमका सेवामा टाइम कार्ड लागू गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो ।

यो ब्यवस्थासँगै अव सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र सेवा पाउने उपाध्यायले बताउनु भयो । उहाँका अनुसार अव नागरिकता बनाउनका लागि कागजात पुगेको छ भने एक घन्टाभित्रमा तयार हुनेछ भने संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसतका लागि एक घन्टा समय तोकिएको छ ।

यस्तै राहदानी छपाइ भएर आइसकेपछि लिनका लागि १५ मिनेटमा काम हुनेछ । यसैगरी मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसला ६० दिनभित्र गरिसक्ने ब्यवस्था गरिएको छ ।

विगतमा राष्ट्रिय परिचय पत्र र पासपोर्ट लिनेको लाइन लाग्यो भनेर धेरै गुनासो आएकोले व्यवस्थापनका लागि यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । यसैबीच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि आजै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर सेवा प्रवाहको अवस्थाको निरीक्षण गर्नुभएको छ ।