लमजुङ २२ पुस । बेंसीशहर नगरपालिका–६ पुमागाउँका महिलाहरु गाउँलाई पर्यटनसँग जोडी आर्थिक उपार्जन गर्न सक्रिय बनेका छन् । कन्या देवी आमा समुहमा आबद्ध महिलाहरूले पुमागाउँ होमस्टे (घरबास) सुरु गर्नुभएको हो । कन्या देवी आमा समूहकी अध्यक्ष सुकमाया गुरुङले गाउँमा पर्यटक भित्राउन होमस्टेसहित अन्य तयारी थालेको उहाँ बताउँनुहुन्छ ।
पर्यटकलाई घुम्न तथा गाउँको आम्दानीका लागि सामुहिक चिया र कफी खेती सुरु गरिएको उहाँले बताउनुभयो । ‘जग्गा बाँझो पल्टिएको थियो ।
यहाँ चिया र कफीको बगान बनाएर पर्यटक भुलाउँछौँ,’ उहाँले भन्नुभयो । पुमा गाउँ पर्यटन विकास समितिका अध्यक्ष हरि गुरुङका अनुसार ५२ घरधुरी रहेको पुमागाउँबाट सदरमुकाम बेसीशहर बजार, दुई दर्जन बढी गाउँबस्ती, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल, ङादीचुली (डा. हर्क हिमाल) लगायतका हिमालहरू नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ ।
एक पटकमा गाउँमा आएका २० जना पाहुनालाई होमस्टेमा राख्न सकिन्छ । सदरमुकाम बेसीशहरबाट ११ किलोमिटरको दूरीमा पुमागाउँ पर्छ । गाउँसम्मै राम्रो सडक भएकाले बेसीशहरबाट १ घण्टामा मोटरमा पुग्न सकिन्छ ।













प्रतिक्रिया दिनुहोस्