जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ०६:४७

संसदको गाडी खरिदमा भ्रष्टाचार : महिना दिन नपुग्दै बिग्रियो करोडौं मुल्यका गाडी


काठमाडौं, साउन २८ । संघीय संसद सचिवालयले ११ ओटा नयाँ स्कर्पियो गाडी खरिदमा ब्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको छ। संघीय संसदका समिति सभापतिहरूले प्रयोग गर्न थालेको एक महिना पनि नबित्दै गाडीमा खराबी देखिएपछि कानून बनाउने सर्वाेच्च निकाय संघीय संसदकै भ्रष्टाचार छताछुल्ल भएको हो ।

संसद सचिवालयले प्रति गाडी ५५ लाख ८० रुपैयामा खरिद गरी साउन पहिलो साताबाट समिति सभापतिहरूलाई उपलब्ध गराएको थियो। संघीय संसद अन्तर्गत हाल १६ वटा समिति छन्। केही समयअघि सभापतिका लागि सचिवालयले १६ वटा भित्र्याएको थियो। त्यसमध्ये ११ वटा गाडीमा खराबी देखिएको हो। समिति सभापतिहरूले नयाँ किनेको गाडी बिग्रन थालेपछि सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिननालाई जानकारी गराएका थिए।

नयाँ किनिएका अधिकाशं गाडीको झ्यालको सिसा नलाग्ने, पानी परेका बेला सिसा पुछ्न प्रयोग हुने वाइपर नचल्ने समस्या देखिएको छ । राज्य व्यवस्था समितिकी सभापति शशि श्रेष्ठले पाएको नयाँ गाडीको गियर बक्समा समस्या देखिएको छ भने राष्ट्रिय सभाका प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीको गाडीको च्यासिसमा समस्या देखिएको छ। समिति सभापतिहरूले गाडीको समस्या सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ब्रिफिङ गरेपछि अनियमितता सार्वजनिक भएको हो। समिति सभापतिहरुको आग्रहमै सभामुख महराले आफ्नै कार्यकक्षमा कर्मचारी विहीन बैठक समेत गर्नुभएको थियो ।

हामीले सभापतिसँग बैठक बस्यौं। केही पाटपुर्जा पुराना भएको र अनियमितता भएको देखिन्छ, बैठकपछि सभामुख महराको भनाई थियो । उहाँले गाडी खरिदको छानबिनका लागि पाँच जना संसदीय समितिका सभापति सम्मिलित छानबिन समिति समेत गठन गर्नुभएको छ । समितिमा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारी, कानुन समितिका सभापति कृष्णभक्त पोखरेल र लेखा समितिका सभापति भरतकुमार शाह, दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट र अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल सदस्य रहनुभएको छ ।

समिति सभापतिहरूले गाडी पुरानो भएको रिपोर्ट गरेपछि चलिरहेका गाडी हुँदा हुँदै पनि समिति सभापतिहरूलाई संघीय संसद सचिवालयले नयाँ गाडी खरिद गरेर उपलब्ध गराएको थियो। समिति सभापतिहरूका ड्राइभरले सुरूआतमा गाडीको सिसा नलाग्ने समस्या सभापतिहरूलाई ब्रिफिङ गरेका थिए। उनीहरूले नयाँ किनिएका सबै गाडीको साउण्ड बक्स नै डुप्लिकेट रहेको सूचना दिएका थिए।

संघीय संसद सचिवालयले प्रयोग गर्न मिल्ने गाडीलाई समेत ग्यारेजमा राखेर थन्काउने काम गर्दै आएको छ। हाल प्रयोग गर्न मिल्ने गाडीहरू समेत सचिवालयले नयाँ बानेश्वरस्थित संसद भवनमा राख्ने गरेको छ। संघीय संसदमा गाडी व्यवस्थापन गर्न छुट्टै सवारी शाखा छ। सवारी शाखाका अनुसार हाल सचिवालयमा सभापतिहरूले प्रयोग गर्न मिल्ने ४७ वटा गाडी छन्। जसमध्ये ४२ वटा स्कर्पिओ छन्। ३८ वटा गाडी सञ्चालन गर्ने अवस्थामा छन्।

तर समिति सभापतिहरूले गाडी चढ्ने रहर गरेपछि सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री युवराज खतिवडालाई गाडी किन्ने पैसा दिन ताकेता गर्नुभएको थियो । गाडी किन्ने स्रोतको सुनिश्चित नहुँदै संघीय संसद सचिवालयले गाडीका लागि टेण्डर गरेको थियो। असार मसान्तअघि बजेट पाएलगत्तै सचिवालयले स्कर्पियो खरिद गरेको थियो।