जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार १६:३३

विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरू छुटछन : प्रधानमन्त्री


काठमाडौं, पुस २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाई गर्ने आश्वासन दिनुभएको छ ।

थारू कल्याणकारिणी सभा र थारू आयोगका पदाधिकारीहरूसँगको शुक्रबार भेटवार्तामा प्रचण्डले रेशम चौधरीलगायत राजबन्दीहरूको रिहाईका लागि सरकार सकारात्मक रहेको बताउनु भयो।

सभाका महामन्त्री प्रेमीलाल चौधरीले अघिल्लो सरकारले ल्याएको फौजदारी कानुनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेर टीकापुर घटनाका राजबन्दीहरूको रिहाइका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । त्यस्तै सरकारी निकायहरूमा थारूहरूलाई आरक्षणको व्यवस्था गर्नसमेत माग गरिएको छ। ‘प्रधानमन्त्रीज्युले विश्वासको मत लिएपछि टीकापुर घटना र संघीय निजामती ऐनमार्फत् थारू आरक्षणको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ,’ सभाका महामन्त्री चौधरीले भन्नुभयो ।

सभाले लोकसेवा आयोग, विभिन्न सरकारी निकाय र प्रदेश लोकसेवा आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेको छ। थारू आरक्षणको व्यवस्था नगरेको भन्दै सभाले दुई दर्जन बढी रिट निवेदन दायर गरेको छ। केही रिट निवेदनमा अन्तरिम आदेश पाए पनि त्यसको सुनुवाई नभएको सभाका महामन्त्री चौधरीको भनाइ छ।

यता नागरिक उन्मुक्ति पार्टीले पनि रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ माग गर्दै आएको छ। सरकारलाई समर्थन जनाए पनि रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको अडान छ।

भेटवार्तामा थारू आयोगका तर्फबाट अध्यक्षसहित सदस्यहरू उमाशंकर चौधरी, शान्ति मोदी सहभागी हुनुहुन्थ्यो । सो अवसरमा माओवादी नेता सन्तकुमार थारू, कानुनलाल चौधरीसमेत बैठकमा सहभागी हुनुभएको थियो ।