जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार १७:०७

निर्मला पन्त प्रकरण : डिएनए परीक्षणका लागि २ जनाको रगतको नमुना संकलन


महेन्द्रनगर, पुस २२ । भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले दुई जनाको रगत संकलन गरी डीएनए परीक्षणका लागि काठमाडौं पठाएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान गर्न पछिल्लो पटक गठन गरिएको प्रहरी नायव उपरीक्षक (डीआईजी) दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुर आइपुगेर काम थालेलगत्तै दुई जनाको रगत संकलन गरी डीएनए परीक्षणका लागि नमुना काठमाडौं पठाइएको प्रहरी स्रोतले बताएको छ ।

पन्तको २०७५ साल साउन १० गते भीमदत्त नगरपालिका २ उल्टाखामकी बलात्कारपछि हत्या भएको थियो । १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको जनाएको छ ।

डीएनए परीक्षणका लागि रगत संकलन गरिएको दुवै जनाको हिचान भने प्रहरीले गोप्य राखेको छ। रगतको नमूना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा लागि पठाइएको छ ।

यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए भेजाइनल स्वावसँग नमिलेपछि रिहा गरिएको थियो । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले विष्टलाई पक्राउ गरेपनि २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गर्नुभएको थियो । पुस १५ गते गृहमन्त्री लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा कार्यरत डीआईजी सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । सो समिति कञ्चनपुर आएर छानविन अघि बढाएको छ ।