जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार १७:२८

रामचन्द्रपछि बाबुरामलाई पनि चाहियो राष्ट्रिय सरकार


काठमाडौं, पुस २२ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने निर्णय गरेको समाजवादी पार्टीका अध्यक्ष भट्टराईले आफूले मागेको मन्त्रालय नपाउने भएपछि यस्तो प्रस्ताव गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारले बिश्वासको मत लिन केही दिन बाँकी रहँदा भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गर्नुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कि भन्ने प्रस्ताव ट्वीटमार्फत् गर्नुभएको छ ।

‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन,’ भट्टराईले भन्नुभएको छ, ‘अतः खुट्टा तानातानमा समय खेर फाल्नु सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि ?’

भट्टराई आफ्ना पार्टीका नेता महिन्द्रा राय यादवलाई मन्त्री बनाउन दौडधुपमा हुनुहुन्छ । उहाँले यस बिषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेरै यो प्रस्ताव गर्नुभएको थियो । भट्टराईअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।