काठमाडौं, २७ पुस । एनआइसी एसिया बैंकले क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । क्यास डिपोजिट मेसिनबाट भौचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । बैंकले देशका विभिन्न स्थानमा १० वटा मेसिन सञ्चालनमा ल्याएको हो ।
काठमाडौंस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखामा मेसिन सञ्चालनमा ल्याएको छ । रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा पनि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त मेसिनमा ५००/१०० दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५०० र दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ । रकम जम्मा गर्दा खातावाला वा अन्य व्यक्तिले सो मेसिनमा ट्याप गरी बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर र खाता नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड (ओटिपी) कोड प्राप्त हुनेछ ।
बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा टाइप गरेपछि उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद राखेपछि रकम गनेर खातामा जम्मा गर्नासाथ क्यास स्लिप अथवा मोबाइलमा डिपोजिट भएको जानकारी प्राप्त हुनेछ ।














प्रतिक्रिया दिनुहोस्