जनता टाइम्स

२७ पुष २०७९, बुधबार २०:५५

सातै प्रदेशमा बन्यो सत्ता गठबन्धनको सरकार, कांग्रेस बन्यो सवैतिर प्रतिपक्ष


काठमाडौं, पुस २७ । निर्वाचनको परिणामपछि आजबाट सात वटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन । सत्तारुढ गठबन्धले सातवटै प्रदेशमा सरकार बनाएका हुन ।

नेकपा एमाले नेतृत्वको गठबन्धनको सहमतिअनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार गठन भएको छ । यस्तै वाग्मती प्रदेश र कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ ।

संघ र प्रदेशमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमतलगायतका पार्टीहरूको सरकार बनेको छ । कांग्रेसले केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको बेन्चमा बस्ने घोषणा गरेको छ । प्रदेश सरकारलाई उसले विश्वासको मत दिन्छ कि दिँदैन भन्ने निश्चित भएको छैन ।

सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार प्रदेश १ मा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की सवैभन्दा पहिले मुख्यमन्त्री नियुक्त हुनुभएको हो । मधेश प्रदशमा जसपाका सरोज यादव मुख्यमन्त्रीको नियुक्त हुनुभएको छ । सो प्रदेशमा साढे २ वर्षपछि सिके राउत नेतृत्वको जनमत पार्टीलाई मुख्यमन्त्री बनाउने गरी सहमति भएको छ ।

यस्तै वाग्मती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेलले गर्नुभएको छ । यहाँ आधा कार्यकाल एमालेलाई दिने सहमति छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री एमालेका खगराज अधिकारी हुनुभएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त हुनुभएको छ । यस्तै कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीका राजकुमार शर्मा नियुक्त हुनुभएको छ ।

कर्णालीमा माओवादीले पाँच वर्ष एकल नेतृत्व गर्ने केन्द्रको निर्णय उल्ट्याउँदै एमालेबाट साढे दुई वर्षपछि मुख्यमन्त्री हुने प्रदेशस्तरीय सहमति भएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । सो प्रदेशमा साढे २ वर्षपछि माओवादी केन्द्रलाई नेतृत्व छोड्ने सहमति भएको छ ।