काठमाडौं, पुस २९ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज बिश्वासको मत लिन लाग्नुभएको छ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो ।
बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । ९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ ।
यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ । उनीहरूको शपथ १० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ ।
सुरूमा आलोपालोको कुरा उठाएर सरकारमा नगएको माओवादीले हिजो बसेको इन्चार्ज, सहइन्चार्जसहित प्रदेश पदाधिकारीको बैठकबाट सातजनाको नाम सिफारिस गरिएपनि दुई जनाको नाम पक्कापक्की भएको माओवादी स्रोतले बताएको छ ।
अहिले प्रदेश १ मा एमाले, राप्रपा, जसपा सम्मिलित ४ सदस्यीय मन्त्रिमण्डल छ । माओवादीले सुरूमा कम्तीमा तीनवटा मन्त्रालय मागेको छ । मुख्यमन्त्री कार्कीले भने भौतिक पूर्वाधार विकास तथा योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
यस्तै पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले प्रदेशसभा बैठकमा दिउँसो १ बजे विश्वासको मत लिन लाग्नुभएको छ । अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
६० सांसद रहेको यहाँ सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत माग्नुभएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सरकार विस्तार र मन्त्रीहरूको कार्यविभाजन तोक्ने तयारी छ ।













प्रतिक्रिया दिनुहोस्