जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार १५:३२

गण्डकीका मुख्यमन्त्री खगराजले पाए बिश्वासको मत


पोखरा, पुस २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनु भएको छ ।

प्रदेशसभामा आज भएको मतदानमा नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले मुख्यमन्त्री अधिकारीको पक्षमा मत हालेका छन । नेपाली कांग्रेसका २७ सांसदले भने विपक्षमा मतदान गरेका छन ।

प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मतदानमा भाग लिनुभएन । नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुभएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने मतदानमा अनुपस्थित रहनुभयो । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताउनु भएको थियो ।

एमाले संगठन विभाग प्रमुख अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बनेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि विश्वासको मत दिन पत्र नै लेखेर मुख्यमन्त्री अधिकारीले अपिल गर्नुभएको थियो ।

तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिई प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार गण्डकीमा खगराज प्रदेशसभाको ५ वर्षे कार्यकालको पूरा समय मुख्यमन्त्री रहनुहुनेछ ।

गण्डकीको मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झर्नुभएका एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी ५ दलीय गठबन्धन कायमै रहेको भए मुख्यमन्त्री बन्ने सम्भावना थिएन । कांग्रेस नेतृत्वमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्थ्यो । तर, केन्द्रमा सत्ता समीकरण फेरिएसँगै खगराज पनि मुख्यमन्त्री बन्ने पक्का भएको थियो ।

२०७० सालमा सांसद नभएरै पनि शुसील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएका अधिकारी नेकपाकालिन समयमा गृहमन्त्री बन्नुभएको थियो । तर अदालतको निर्णयको कारण १३ दिनमै गृहमन्त्रीबाट बाहिरिनु परेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्य र पोखराको पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु सभापति हुँदै राजनीतिक सिंढी उक्लिँदै आउनु भएका अधिकारी २०६५ सालमा नेकपा एमालेको केन्द्रीय सदस्य चुनिनु भएको हो । दशौं महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख हुनुहुन्छ ।