बिराटनगर, पुस २९ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेश(१ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउनुभएको हो ।
प्रदेश सभामा उपस्थित ९२ सांसद्मध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५९ र विपक्षमा ३२ मत परेको छ । ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा एमाले, माओवादी, राप्रपा र जसपाका गरेर सभामुख बाहेक ५९ जना सांसदले उहाँलाई विश्वासको मत दिएका हुन् । कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ गरेर ३२ सांसद्ले विश्वासको मत दिएनन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको छैटौं दिनमै उहाँले विश्वासको मत लिनुभएको हो ।

कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसद्को समर्थन छ । सरकार गठनका लागि ४७ जना सांसद् चाहिनेमा कार्कीलाई ६० सांसद्ले समर्थन गरेका हुन् । ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा नेपाली कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ जना सांसद् छन् ।
कार्की एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश सहइञ्चार्ज हुनुहुन्छ । मंसिर ४ गते सम्पन्न चुनावका कार्की झापा क्षेत्र नम्बर ५ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ निर्वाचनपछि सवैभन्दा पहिले मुख्यमन्त्री नियुत्तः हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्