जनता टाइम्स

३० पुष २०७९, शनिबार ०९:५६

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं, पुस ३०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा मन्त्रिपरिषदको पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।सातदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंग्याउन बाँकी छ ।

हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ ।दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उहाँले सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो । मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड–ओलीबीच मोटामोटी सहमति भइसकेको बताइन्छ । दुई नेताको निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर टुंग्याइने एक नेताले बताउनुभयो । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।