लमजुङ, २ माघ । मनाङ जिल्लामा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको आयोजनाको काम सुरु गरिएको हो । आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच २०७९ पुस ३ गते सम्झौता भएको थियो ।
पिकिङ रन अफ दी रिभर प्रकृतिको आयोजनाको काम ४ वर्षमा पुरा हुने जनाइएको छ । जसबाट वार्षिक ७६६।५९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुनेछ । आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्यूवाईसी इन्टरनेसनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ ।
आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्नेछ। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ । सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल छ दशमलव शून्य ७५ किलोमिटर रहेको छ ।
आयोजनाको कूल लागत ३३ अर्ब ३८ करोड रुपैयाँमध्ये २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण ल्याउने तयारी थालेको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतीक महर्जनले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्