कास्की, माघ २ । गण्डकी प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित हुनुभएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा थापा ३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा उहाँको विपक्षमा २६ मत प्राप्त भएको सभामुख कृष्ण धितालले जानकारी दिनुभयो । धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी थिए ।
सोमबार बसेको प्रदेशसभाको बैठकमा थापालाई सांसद गोविन्दबहादुर नेपालीले उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो भने माओवादी सांसद सुशीला सिम्खडाले समर्थन गर्नुभएको थियो ।
थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए । यस्तै, लमजुङबाट समानुपातिकतर्फ निर्वाचित कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिनुभएको थियो ।
४९ वर्षीया थापा एमालेबाट समानुपातिक सांसद बन्नुभएको हो । बाग्लुङको बडीगाड गाउँपालिका–१ की थापा २०४३ सालदेखि विद्यार्थी राजनीतिमा होमिनुभएको थियो । २०५३ मा एमाले पार्टीको सदस्यता लिनुभएकी थापा २०६४ मा एमाले बाग्लुङ जिल्ला सदस्य हुनुभयो । हाल उहाँ अखिल नेपाल महिला संघ बाग्लुङको सचिव हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्