काठमाडौं, माघ २ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छनोट गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेले सोमबार पार्टीको संसदीय दलको भर्चुअल बैठक बोलाएर सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी लिनुभएको हो । रास्वपाका सांसद मनिष झाले पार्टीको तर्फबाट निर्णय लिने अधिकार यसअघि नै सभापति लामिछानेलाई दिइएको र त्यसलाई आज बसेको संसदीय दलको बैठकले निरन्तरता दिएको बताउनु भयो ।
सत्ता गठबन्धनको तेस्रो ठूलो दल रास्वपाले उपप्रधानमन्त्री र गृहमन्त्री यसअघि नै लिइसकेको छ । रास्वपाले ४ मन्त्रालयमा दाबी गरेको छ । सरकारमा सहभागी हुन दलको संख्या बढेमा कम्तीमा ३ मन्त्रालय पाउनुपर्ने उसको दाबी छ । त्यस्तै उपसभामुख र एक राज्यमन्त्री पाउनुपर्ने पनि रास्वपाको दाबी छ ।
सांसद झाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लगायतका मन्त्रालयमा दाबी प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग राखेको जानकारी लामिछानेले संसदीय दलमा जानकारी गराउनु भएको थियो ।
रास्वपाका सांसदहरूले पार्टीबाट मन्त्री चयन गर्दा प्रत्यक्ष निर्वाचित भएर आएकालाई प्राथमिकतामा राख्नुपर्ने माग उठेको अर्का एक सांसदले बताए । ’सरकारमा मन्त्री पठाउँदा प्रत्यक्ष निर्वाचित, महिला, समावेशीलाई प्राथमिकता दिनुपर्ने सुझाव सभापतिलाई दिएका छौं । मलाई यै मन्त्रालय पाउनुपर्छ कसैले भनेको छैन ।
सांसदको व्यक्तिगत विज्ञताको आधारमा जनताबाट निर्वाचित भएर आएकोलाई प्राथमिकता दिनुपर्छ भनेका छौं,’ ती सांसदले भने, ’जनताबाट प्रत्यक्ष म्यान्डेट लिएर आएको भएकाले र काम गरेर देखाउनुपर्ने हुँदा त्यसलाई प्राथमिकता दिनुपर्छ भनेको हो ।’
सभापति लामिछानेले भने जोसुकैले पनि मन्त्रीको जिम्मेवारी पाउन सक्ने जानकारी दिनुभएको छ । रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पार्टीको भागमा परेमा काठमाडौं– ६ बाट निर्वाचित शिशिर खनाल दाबेदार रहने बताइएको छ । उहाँ ’टिच फर नेपाल’ संस्थापक हुन् । उनले शिक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा उक्त मन्त्रालयमा दाबेदारका रूपमा हेरिएको स्रोतको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राप्त भएमा ललितपुर– ३ बाट निर्वाचित डा. तोसिमा कार्कीसँगै समानुपातिक सांसदहरू डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की दाबेदार रहनु हुनेछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएमा काठमाडौं– २ बाट निर्वाचित सोविता गौतमलाई पठाउने बताइएको छ । उपसभामुखमा पनि गौतमसहित समानुपातिक सांसद सुमना श्रेष्ठको चर्चा रहेको रास्वपाका सांसदहरूले जानकारी दिएका छन् । प्रतिनिधिसभामा रास्वपाका २० सांसद छन् ।













प्रतिक्रिया दिनुहोस्