जनता टाइम्स

३ माघ २०७९, मंगलवार ०७:५९

पोखरा बिमान दुर्घटना : आफन्तलाई शव बुझ्न निकै सास्ती


पोखरा, माघ ३ । विमान चढेर आइतबार पोखरा उडेकाले ओर्लिएर वा फर्किएर आफन्त त भेट्न पाएन् नै । आफन्तलाई दुर्घटनामा ज्यान गुमाएकाको शव पाउन पनि निकै मुस्किल पर्यो । दुर्घटनाको दोस्रो दिन सोमबार दिनभर शव लिन आफन्तको हार गुहार चल्यो । पोखराको अस्पताल परिसरमा सोमबार दिनभर आफन्तको रुवावासी चल्यो भने दुर्घटना स्थलमा हराएका ३ जनाको खोजीकार्य जारी रह्यो ।

दुघर्टनास्थल सेती खोंचबाट उद्धार गरी ल्याएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । सोमबार दिउँसो काठमाडौंबाट मेडिकल टिम आएपछि पोस्टमार्टमको काम सुरु भएको थियो । सोमबार शव बुझाउने अस्पताल प्रशासनले जानकारी दिएपछि अस्पताल परिसरमा आफन्त र शुभ चिन्तकको भीड थियो। दिनभर आफन्त रुवावासी गर्दै शव पाउने प्रतिक्षामा बसे पनि साँझसम्म शव नपाएपछि निराश र आक्रोशित भएका थिए । साँझ अबेर पोस्टमार्टम सकिएको शव आफन्तलाई बुझाइएको थियो।

दिनभर अस्पतालमा आफन्तको शव बुझ्न रुँदै बसेका आफन्त प्रक्रिया छिटो–छरिटो पूरा गर्नुपर्नेमा ढिला भएको भन्दै आक्रोशित बनेका थिए । उनीहरुले नाराबाजीसमेत गरे । ‘आफन्तलाई त गुमायौं। शव बेलैमा नपाउँदा अर्को पीडा भयो,’ एक मृतकका आफन्त सा खलिद मियाँले भन्नेभयो । मियाँ भन्दै हुनुहुन्थ्यो, ‘परिचय खुलेको छ । अनुहार पनि चिनिने अवस्थामा रहेका शवको छिटो प्रक्रिया पुर्याएर दिनुपर्नेमा त्यो हुन नसक्दा पीडित थप पीडामा छौं ।’

पोखरा १३ मियाँपाटनका २५ वर्षीय सदाकत अलिमियाँ साउदीमा हज गर्न जानलागेकी सानिमालाई काठमाडौंमा प्लेनमा चढाएर फर्कंदै गर्दा दुर्घटनामा पर्नुभएको थियो । ‘सानिमा प्लेन चढेर साउदी जानुभयो । बाबु यता आउँदै गर्दा यास्तो दुर्घटनामा पर्नुभयो,’ आफन्त मुहमद खली मियाँले भन्नुभयो, ‘बुद्ध एयरको टिकट काट्नु भएको थियो, कसरी यती एअरमा आउनुभयो थाहा छैन । त्यसको पनि छानबिन हुनुपर्यो नि !,’ उहाँले भन्नुभयो । सदाकत अलिमियाँको शव पोस्टमार्टमपछि सोमवार साँझ करिब ८ बजे आफन्तलाई बुझाइएको छ । सोमबार रातिसम्म एक जनाले मात्र शव बुझेका छन ।

विमान दुर्घटनामा परेर मृत्यु भएकी बागलुङकी नीरा छन्त्यालका आफन्त पनि दिनभर शव पाउने आशामा कुरेर बसे पनि शव पाउन लामो प्रक्रिया लागेको सुनाउनु भयो । कलाकार नीरा कार्यक्रममा प्रस्तुति दिन विमानबाट पोखरा आउनुभएको थियो । गाउँबाट र पोखरामै रहेका आफन्तसमेत गरी ३५÷४० जना नीराको अन्तिम संस्कार गर्न अस्पताल परिसरमा भेला भएका थिए । काठमाडौं पठाइने मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौं जान प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कास्कीले भोलिका दिनमा कुनै पनि समस्या नआउने गरी प्रक्रिया पुर्याउनुपर्ने बाध्यताका कारण आफन्तलाई शव बुझाउन समय लागेको जनाएको छ । शव पहिचान हुन नसक्ने अवस्थाको शव पहिचान गरी बुझाउनु पर्ने अवस्था रहेको बताइएको छ ।

७० जनाको शव फेला पर्यो

यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनाको शव घटनास्थल सेती खोंचबाट निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । दुर्घटनामा परेका ७२ जनामध्ये ७० जनाको शव फेला परेको हो । अन्य दुई जनाको खोजीकार्य जारी छ ।

६८ यात्रु र चालक दलका ४ सदस्यसहित काठमाडौंबाट उडेको यती एयरलाइन्सको कल साइन नाइन एन–एएनसी (एटीआर ७२) विमान पोखराको व्यस्त बजारको मध्यभाग भएर बगेको सेती नदीमा आइतबार दुर्घटना भएको थियो। गहिरिएर बगेको सेती खोंचमा दुर्घटना भएकाले उद्धार कार्य निकै चुनौती र जोखिम पूर्ण छ । उद्धारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयको समेत सहयोगमा सोमबार बिहानैदेखि दुर्घटनामा परेकाको खोजी कार्य भएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकका अनुसार दुर्घटनामा परेका मध्ये २० जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई बुझाइने तयारी भइरहेको छ । बाँकी ५० जनाको शव भने काठमाडौं पठाउने लागिएको छ ।