जनता टाइम्स

३ माघ २०७९, मंगलवार २०:३९

प्रधानमन्त्रीले सुनाए कांग्रेसलाई राष्ट्रपति र सभामुख दिन नसक्ने निर्णय : सत्ता साझेदार दलको सहमतिमा दृढ रहेको उदघोष


काठमाडौं, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसहित संवैधानिक पदहरुको बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरुमा भएको सहमतिमा आफू दृढ रहेको प्रष्ट पार्नुभएको छ ।

आफूलाई बिश्वासको मत दिने संसदका दलहरुको आज सर्वदलीय बैठक राखेर प्रधानमन्त्री दाहालले प्रष्ट धारणा दिनुभएको हो । प्रधानमन्त्री दाहालको यो भनाईसँगै उहाँले कांग्रेसलाई राष्ट्रपति र सभामुखमध्ये एक पद दिन नसकिने प्रष्ट भएको छ । उहाँले आफू सत्ता गठबन्धनको सहमतिप्रति दृढ रहेको र संवैधानिक पदहरुमा दलहरुबीच सहमति जुट्ने अवस्था भए आफू त्यसका लागि सहजिकरण गर्न तयार रहेको जानकारी पनि गराउनु भएको छ ।

’प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव माग्नुभएको थियो,’ प्रधानमन्त्री दाहालका सचिवालय सदस्य सूर्य किरणले भन्नुभयो, ’उहाँले आफू सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषदले पूर्णता पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा राख्नुभएको थियो ।’ बैठकको सुरुवात गर्दै प्रधानमन्त्री दाहालले विश्वासको मत दिने सबै दललाई धन्यवाद दिनुभयो ।

सत्ता गठबन्धनसहत गत पुस २६ गते बसेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री दाहालले आज दिउँसो बालुवाटारमा बोलाउनु भएको हो । बैठकमा दाहालले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितमा फरक भएको बताए पनि कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दिने कुरा संभव नरहेको प्रष्टै संकेत गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, सहभागी हुनुहुन्थ्यो ।

यसैगरीनेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, उपमहासचिव प्रकाश ज्वाला, नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित रहेको थियो ।