काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई बिश्वासको मत दिएर माछा पार्न थापेको ‘ढोक्सा’ मा भ्यागुता परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फाटो ल्याउनका लागि कांग्रेसले बिश्वासको मत दिएपनि सभामुखको निर्वाचनसम्म आइपुग्दा बिपक्षी गठबन्धन बनाउन बाध्य भएको हो ।
सभामुखको निर्वाचनमा सत्ता गठबन्धनबाट झापा २ बाट निर्वाचित नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे उम्मेदवार बनेलगत्तै कांग्रेसले हैसियतभन्दा ठूलो भाग नपाएको भन्दै सरकारमा नआएका दललाई समेटेर गठबन्धन बनाएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेला अबैध रुपमा जन्माइएको दल नेकपा एकीकृत समाजवादीसहित जसपा र लोसपा सहभागी भएको छ ।
कांग्रेसको नेतृत्वमा मात्रै नेपालको कम्युनिष्ट आन्दोलन फैलिन्छ भन्ने बिचारका नेता माधवकुमार नेपालकै पहलमा जसपा र लोसपा पनि कांग्रेसकै शरणमा पुगेको हो । सत्तारुढ गठबन्धनमा सहभागी हुनुभएका जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का नेता अशोक राईलाई सरकारमा जानबाट रोक्न आजबाट कांग्रेस नेतृत्वको बिपक्षी गठबन्धनमा सहभागी हुनुभएको सोही पार्टीका नेताहरुले बताएका छन ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा रहेका विपक्षी दलहरूको तर्फबाट ईश्वरी न्यौपाने सभामुखको उम्मेदवार बनेको बताएर आजबाट कित्ताकाट गरेको संकेत दिनुभएको छ ।
कांग्रेस सांसद न्यौपानेले बुधबार सभामुखको पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेपछि उहाँका प्रस्तावक शर्माले भन्न्ुभयो, ’नेपाली कांग्रेस पार्टीको तर्फबाट नभएर सरकारभन्दा बाहिर रहेका दलहरूको तर्फबाट सभामुख उम्मेदवारको रूपमा ईश्वरी न्यौपाने प्रस्तुत हुनुहुन्छ ।’ न्यौपानेको समर्थक एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद प्रकाश ज्वाला हुनुहुन्छ ।
नेकपा एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा बिश्वासको मत लिने बेला नै बिना छलछाम समर्थन गरेको भए निकै राम्रो भन्दै माछा पर्छ कि भनेर ढोक्सा थापेको हो भने केही पर्नेवाला छैन भन्नुभएको थियो ।
कांग्रेसले एमाले र माओवादी नेतृत्वबीच आशंका पैदा गरी राष्ट्रपति र सभामुखमध्ये एक पद पाइन्छ कि भनेर बिश्वासको मत दिएको तथ्य बाहिर आइसकेको छ । सभामुखको निर्वाचनमा बिपक्षी गठबन्धन नै बनाएपछि अव त्यो ढोक्सामा भ्यागुतो परेको कांग्रेसकै नेताहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्