काठमाडौं, माघ ५ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेताहरुलाई कठोर जवाफ फर्काउनु भएको छ । उहाँले गृह मन्त्रालयले विधि र पद्धतिभन्दा बाहिर गएर काम नगर्ने भन्दै कठोर जवाफ दिनुभएको हो ।
बिहीबार संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि सदनमा उपस्थित भएको उल्लेख गरेपछि गृहमन्त्री लामिछानेले त्यसको जवाफ दिनुभयो । कर्मचारी सरुवा बढुवा र कानुनी शासनको पालनामा कुनै कसर बाँकी नराख्ने गृहमन्त्री लामिछानेले बताउनु भयो ।
’माननीय सांसदज्युले फरार रहनु भएका मानिस संसद्मा हुनुहुन्छ भन्नुभयो । विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले काम गर्नेछैन । कर्मचारीको सरुवा बढुवामा भनसुनका आधारमा चल्ने छैन । कुनै पनि दबाब र प्रलोभनमा काम हुने छैन । विधि र पद्धतिभन्दा बाहिर गएर काम हुने छैन,’ गृहमन्त्री लामिछानेले भन्नुभयो ।
प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिनुभएको थियो । उहाँले पुस २६ मा संघीय संसदमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुभएको थियो ।
संघीय संसद सचिवालयका अनुसार बिहीबार भने अहिलेसम्म कोइरी संसद्मा उपस्थित भएका छैन । संसद बैठकमा उपस्थित भएका सांसदहरूको हाजिरी पुस्तिकामा उहाँको नाम नभएको सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्