जनता टाइम्स

५ माघ २०७९, बिहीबार १३:१८

कांग्रेसले राष्ट्रपति र सभामुखका लागि ढोक्सा थापेको प्रमाणित, बिश्वप्रकाशले संसदमै खोले रहष्य


काठमाडौं, माघ ५ । नेपाली कांग्रेसले राष्ट्रपति र सभामुख पद पाउनका लागि ढोक्सा थापेको प्रमाणित भएको छ । सभामुख चयनका लागि आज बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस महामन्त्रीसमेत रहनुभएका सांसद बिश्वप्रकाश शर्माले यो तथ्य खोल्नुभएको हो ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई बिश्वासको मत दिने निर्णय गर्दा कुनै संझौता नभएको बताएको थियो । सोही दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थरहित समर्थन हो भने स्वागतयोग्य भन्दै माछा पार्न ढोक्सा थापेको हो भने केही नपर्ने बताउनु भएको थियो ।

आज मतदानअघिको छलफलमा भाग लिदै शर्माले राष्ट्रपति र सभामुख कांग्रेसलाई चाहिएको भन्दै ढोक्सा थापेको स्वीकार गर्नुभएको हो । प्रधानमन्त्रीलाई बिश्वासको मत दिनुभएका सांसद शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको र सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा उभिएको बताउनु भयो ।

‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ । त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ,’ शर्माको भनाई थियो । उहाँले सभामुख र राष्ट्रपतिमा कांग्रैसको मात्रै हक लाग्ने तर्कसमेत गर्नुभयो ।

‘२०७४ सालको अनुभवबाट यो संसद्ले अनुभव लिनुपर्छ। त्यो बेलामा दुईवटा कम्युनिष्ट पार्टीका अध्यक्ष एउटै दलमा हुनुहुन्थ्यो। एकजना प्रधानमन्त्री हुनुभयो र अर्कोले आफू निकटकोलाई सभामुख बनाउनुभयो। तर, एक वर्ष नपुग्दै प्रधानमन्त्रीले भन्नुभयो मलाई सभामुखबाट सहयोग भएन। त्यसैले यो बेलामा म भन्न चाहन्छु आवश्यक सहयोग पनि नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हाम्रो संविधानको परिकल्पना हो कि होइन,’ शर्माले भन्नुभयो । उहाँको यो भनाईले सभामुख र राष्ट्रपतिमा र्याल चुहाएर कांग्रेसले प्रधानमन्त्रीलाई बिश्वासको मत दिएको पुष्टि गरेको हो ।