जनता टाइम्स

७ माघ २०७९, शनिबार १९:५८

गृहजिल्लाकै कार्यकर्तासँग माधवले पोखे यतिधेरै आक्रोश


काठमाडौं, माघ ७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै गृहजिल्लाका नेता–कार्यकर्तामाथि खनिनु भएको छ । अध्यक्ष नेपालले घण्टीमा भोट किन मागेको भन्दै कार्यकर्तालाई प्रश्न गरेर आक्रोशित बन्नुभएको हो ।

शनिबार सो पार्टीको रौतहट काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले समानुपातिकमा घण्टीमा भोट मागेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

’सम्पर्क मञ्चका साथीहरु घण्टीमा किन भाट मागेको ? रौतहट जिल्लामा गएपछि समानुपातिकमा घण्टीमा भोट दिनुपर्यो भन्ने सुन्नमा आएको छ । सुन्नमा आएको कुरा सहि हो होइन, खुलस्त भने भइहाल्छ नि । प्रत्यक्षमा त कलममा मागेको थिएँ, समानुपातिकमा उसले गरेको काम र बोली मन परेकोले घण्टीमा भोट मागेको हुँ भने भइहाल्यो, तर भोली प्रमाण फेला पर्यो भने गाह्रो पर्ला,’ नेपालले भन्नुभयो ।

उहाँले समानुपातिकमा एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बन्न नसकेकोमा आक्रोशित हुँदै कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।