जनता टाइम्स

८ माघ २०७९, आईतवार १०:१५

अमेरिकी राष्ट्रपति बाइडेनको घरमा एफबीआईको खोजी, छ वटा गोप्य कागजात भेटियो


वासिङ्टन, अमेरिका, माघ ८ ।अमेरिकी राष्ट्रपति जो बाइडेनको विल्मिंगटन, डेलावरमा रहेको घरमा एफबीआईले शुक्रबार १३ घण्टा लगाएर बिभिन्न कागजातको खोजी गरेको छ ।

एफबीआईले थप गोप्य कागजातहरू फेला पारेको तथा हातले लेखिएका केही नोटहरू पनि कब्जामा लिएको राष्ट्रपतिका वकिलले शनिबार जानकारी दिएको समाचार एजेन्सीहरुले जनाएका छन ।

राष्ट्रपतिले स्वेच्छाले एफबीआईलाई आफ्नो घरमा प्रवेश गर्न अनुमति दिएको जनाइएको छ । खोजी वारेन्टको अभावले खोजमा कुनै असर नगरेको जनाइएको छ । बाइडेन उपराष्ट्रपति हुँदाका बखतका गोप्य कागजातहरू घरमा भेट्टाएपछि बाइडेनलाई अप्ठ्यारो बनाएको थियो । त्यसबेलादेखि वकिलहरूले बाइडेनको घरको पुस्तकालयमा छ वटा गोप्य कागजातहरू भेट्टाएका थिए । तर एफबीआईले खोजेको भने यो पहिलो पटक हो ।

अमेरिकाबाट सञ्चालिन अनलाइन पत्रिका खसोखासले जनाएअनुसार शुक्रबार एफबीआईको खोजी लगभग १३ घण्टासम्म चलेको थियो । त्यो क्रममा एफबीआईले छ वटा गोप्य कागजातहरु लिएको जनाइएको छ । ती बागजातहरु बाइडेन सिनेटर र उपराष्ट्रपति हुँदाका सम्बन्धित हुन् ।

सहायक युएस एटोर्नी जोसेफ फिट्जप्याट्रिकले एफबीआईले विल्मिंगटनमा राष्ट्रपतिको निवासको गरेको खोजी योजनाबद्ध र सहमतिमा भएको बताएका छन् । खोजी गर्दा राष्ट्रपति र प्रथम महिला जिल बाइडेन घरमा नरहेको एफबिआइका अधिकारीहरुले जनाएका छन ।

बिहीबार क्यालिफोर्नियाको यात्राको क्रममा पत्रकारहरूसँग कुरा गर्दै, बाइडेनले यो मामलामा पूर्ण रूपमा सहयोग गरिरहेको बताउनु भएको थियो । साथै यसलाई चाँडै समाधान गर्न तत्पर रहेको बताउनु भयो ।

राष्ट्रपति बाइडेनले केही कागजातहरू गलत ठाउँमा फाइल गरिएको भेटाएको र तिनीहरूलाई तुरुन्तै अभिलेख र न्याय विभागमा पठाएको बताउनु भएको छ ।