जनता टाइम्स

१० माघ २०७९, मंगलवार ०९:१३

थ्रेसहोल्ड कटाउन नसकेको माधवको नेकपा एसले राख्यो सवैभन्दा धेरै पैसा खर्च गर्ने दलको किर्तिमान


काठमाडौं, माघ १० । प्रतिनिधिसभाको ४ मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ सवैभन्दा धेरै पैसा खर्च गर्ने दल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी देखिएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीले चुनावमा सवैभन्दा धेरै पैसा खर्च गरेको पाइएको हो ।

आयोगमा बुझाएको तथ्यांकअनुसार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक करोड ९० लाख ८९ हजार पाँच सय रुपैयाँ खर्च गरेको छ । दुई करोड आठ लाख खर्च गर्न सीमा पाएको समाजवादीले १०४ जनाको नाम समानुपातिक बन्दसूचीमा राखेको थियो । तर, तीन प्रतिशत मत नपाएर थ्रेसहोल्ड कटाउन नसक्दा एउटा पनि उम्मेदवार निर्वाचित हुन सकेनन । सो पार्टीले राष्ट्रिय दलको मान्यतासमेत पाएन भने थ्रेसहोल्ड नकट्दा एकीकृत समाजवादीको जमानतबापतको ५० हजार रुपैयाँ जफत भएको छ ।

आयोगको तथ्यांकअनुसार दोस्रोमा सबैभन्दा धेरै खर्च गर्नेमा राप्रपा देखिएको छ । १०६ जना उम्मेदवार बन्दसूचीमा राखेर एक करोड ८९ लाख खर्च गरेको राप्रपाले समानुपातिकतर्फ सात सिट प्राप्त गरेको छ । राप्रपाले हेलिकोप्टर प्रयोगमा पाँच लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । १०८ उम्मेदवार उठाएर ३२ सिट प्राप्त गरेको कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ रुपैयाँ खर्च गरेको विवरण पेस गरेको छ । यस्तै कांग्रेसको खर्च गर्न पाउने सीमा दुई करोड १६ लाख थियो ।

यसैगरी ११० उम्मेदवार उठाएको एमालेले एक करोड ३३ लाख २६ हजार ६९३ रुपैयाँ खर्च गरेको छ । सवैभन्दा बढी लोकप्रिय मतसहित ३४ सिट प्राप्त गरेको एमालेले हेलिकोप्टरसहित सवारीमा ६५ लाख रुपैयाँ खर्च गरेको तथ्यांक पेस गरेको छ । १०७ उम्मेदवार भएको माओवादी केन्द्रले एक करोड ४ लाख तीन सय ४६ रुपैयाँ खर्च गरेर १४ सिट प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले हेलिकोप्टरसहित यातायातका साधन प्रयोगमा २७ लाख ४९ हजार रुपैयाँ खर्च गरेको छ । १०७ जना उम्मेदवार बन्दसूचीमा राखेर १३ सिट प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार दुई सय २५ रुपैयाँ खर्च गरेको छ ।

एक सयजना उम्मेदवार उठाएको जसपाले ३५ लाख खर्च गरेर पाँच सिट प्राप्त गरेको छ । २८ उम्मेदवार उठाएर पाँच सिट जितेको जनमत पार्टीले तीन लाख ८८ हजार रुपैयाँ खर्च गरेको विवरण पेस गरेको छ । संसद्मा प्रतिनिधित्व गरेको, तर समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेको लोसपाले नौ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले १० लाख १३ हजार, नेमकिपाले २८ लाख ७६ हजार २५० र राष्ट्रिय जनमोर्चाले तीन लाख ९१ हजार ६५ रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएको छ ।

समानुपातिकतर्फ दलहरूले मतदाता नामावली खरिद, सवारीसाधन (हेलिकोप्टर प्रयोगसमेत), प्रचार सामग्री, ढुवानी, गोष्ठी अन्तर्क्रिरया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनमा खर्च गरेका थिए ।

आयोगको तथ्यांकअनुसार सात दलले थ्रेसहोल्ड कटाएर सिट प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता पाउँदा बाँकी ४० दलले लाखौँ रुपैयाँ खर्च गरे पनि थ्रेसहोल्ड कटाउन नसकी धरौटी जफत भएको छ ।