जनता टाइम्स

११ माघ २०७९, बुधबार १५:१९

प्रेमप्रसादलाई न्याय माग्दै प्रदर्शन


काठमाडौं, माघ ११ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ ।

नागरिक समाजका अगुवा र युवाहरूले इलामका प्रेमप्रसाद आचार्यको न्याय र उनीजस्तै लाखौँ नेपाली युवाहरूको न्यायकालागि सरकारसँग माग गरेका छन् । उनीहरूले आचार्यको दुःखद निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने उनका २५ बुँदे मागहरू पूरा गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंको माइतीघरमा जम्मा भएर नाराबाजीसहित बानेश्वर पुगेका उनीहरूले ‘सरकार गरिखान दे, प्रेमप्रसाद आचार्यको आत्महत्या होइन हत्या हो, अर्को जल्दो शरीर मेरो नहोस्, यो देश हो कि बधशाला ?’ लगायत नाराहरू लेखिएका प्ले–कार्डसहित प्रदर्शन गरेका छन् ।

नागरिक अगुवा एवं लेखक सञ्जिव उप्रेतीले आचार्यको आत्मदाहले नेपाली अर्थ सामाजिक व्यवस्थाको मारमा परेको संघर्षशील युवाको जीवनलाई उजागर गरेको बताउनु भयो ।

‘प्रेम आचार्यको कहानी यदि कारुणिक छ कि उहाँले बारम्बार प्रयास गर्नुभएको छ माथि उठ्नकालागि । तर, उहाँलाई हाम्रो अर्थ सामाजिक व्यवस्थाले सधैँ पिँधमा पुर्‍याइरहेको देखिन्छ,’ उप्रेतीले भन्नुभयो, ‘यो उहाँको अवस्था हो । तर यही अवस्था अहिले लाखौँ नेपालीले बेहोर्न बाध्य छन् । यस्तो अवस्थाको अन्त्य गर्न हामी सडकमा आउन बाध्य भएका छौँ ।’

प्रदर्शनका क्रममा उनीहरूले सीमान्तकृत दलित, महिला र मजदुरहरूको जीवनस्तर माथि उठ्न नसकिरहेको अवस्थाको चित्रलाई उजागर गरेको बताएका छन् ।