जनता टाइम्स

११ माघ २०७९, बुधबार १९:११

आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारको निर्णय


काठमाडौं, माघ ११ । सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने इमाल निवासी प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनलाई प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमा लगे पनि बचाउन संभव भएन ।

आचार्यको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो । उहाँले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गर्दै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।

आज बिहान गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा आचार्यका परिवारसँग भेट गर्दै प्रेमले उठाएका विषयमा सरकारले छानबिन गर्ने प्रतिवद्धता जनाउनु भयो । आचार्यले आत्महत्या अघि लामो पोष्ट गर्दै बिभिन्न ब्यक्तिको नाम लिएका छन ।