जनता टाइम्स

११ माघ २०७९, बुधबार १९:४१

कर्णाली प्रदेशको मन्त्रिपरिषदले पायो पुर्णता, नवनियुक्त चार मन्त्रीले लिए शपथ


सुर्खेत, माघ ११ । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले आज नवनियुक्त चार जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

मुख्यमन्त्री राजकुमार शर्माले आज नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा योजना मन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

त्यस्तै नेकपा एमालेका टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको थियो । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त शर्माले आज मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो ।

यसअघि पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय र माओवादी केन्द्रका मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।