जनता टाइम्स

१२ माघ २०७९, बिहीबार ०९:४१

सहरी विकासमन्त्रीको बदमासी : आफ्नै कम्पनीको ठेक्काको म्याद थप्न आफ्नै मन्त्रालयमा निवेदन


काठमाडौं, माघ १२ । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफ्नै कम्पनीको म्याद थप्न आफैंले सम्हालेको मन्त्रालयमा निवेदन दिनुभएको छ । निर्माण ब्यवसायी पाण्डेले कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिले दुई वटा सरकारी ठेक्काको म्याद थप गर्न माग गर्दै उहाँले नै नेतृत्व गर्नुभएको मन्त्रालयमा निवेदन दिएको हो ।

मन्त्रालय स्रोतका अनुसार ३ अर्ब रुपैयाँका दुईवटा सरकारी ठेक्काकोे म्याद थप गर्न सो कन्ट्रक्सनले मन्त्रालयमा निवेदन दिएको छ । कालिका कन्ट्रक्शनले धनगढी उपमहानगरपालिकाभित्र सडक निर्माण र वाग्मती सौन्दर्यकरणको काममा म्याद थप गर्न प्रस्ताव गर्दै सहरी विकास तथा भवन निर्माण विभागमा फाइल पठाएको छ ।

२०७७ सालमा कालिकाले धनगढी उपमहानगरपालिकाभित्र करिब १० किलोमिटर सडक र नाला बनाउन ७५ करोड रूपैयाँको ठेक्का लिएको थियो । सम्झौताअनुसार गत साउनमै काम सक्नुपथ्र्यो तर अहिलेसम्म धनगढीमा बाटो भत्काउने काम मात्र भइरहेको छ । कालिका कन्ट्रक्शनले धनगढी सडकको हकमा जेठसम्म म्याद थप गर्न कालिकाले विभागमा प्रस्ताव पठाएको छ ।

धनगढीका मेयर गोपाल हमालले समयमै काम पूरा गर्न पटकपटक सहरी विकास मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक र आयोजना प्रमुखलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्दै आउनु भएको छ । सहरी विकास मन्त्रालयका अनुसार कालिकाले कैलालीको गोदावरी नगरपालिकामा पनि सडक निर्माणको ठेक्का पाएको छ । विभागका अनुसार गोदावरीमा पनि तोकिएको समयभित्र काम भएको छैन । अहिलेसम्म गोदावरीमा ७० प्रतिशतजति काम भएको विभागको भनाइ छ ।

यसैगरी कालिका कन्स्ट्रक्सनले करिब २ अर्ब रूपैयाँमा वाग्मती नदीको गोकर्णदेखि तिलगंगासम्म सौन्दर्यकरण गर्न २०७४ सालमा ठेक्का पाएको थियो । ठेक्काअनुसार कालिकाले काम गरेको भए दुई वर्षपहिले नै काम सक्नुपथ्र्यो । तर कालिकाले समयमा काम नसकेर म्याद थप गर्न सहरी विकास मन्त्रालयमा फाइल पठाएको छ ।

मन्त्रालय स्रोतका अनुसार २०७५ सालमा करिब २ अर्ब रूपैयाँमा नक्खु खोला कोरिडोर निर्माण गर्न सहरी विकास तथा भवन निर्माण विभागले कालिका कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । करिडोरमा पनि आधा काम मात्रै पूरा भएको छ ।