जनता टाइम्स

१२ माघ २०७९, बिहीबार २०:४१

आत्मदाह गरेका प्रेम आचार्यको उठाएको बिषयमा छानबिन गर्न गृहले बनायो समिति


काठमाडौं, माघ १२ । आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रायका सह(सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो ।

गृहका अनुसार अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक सदस्य रहने गरि समिति गठन भएको छ ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने कार्यादेश समितिलाई दिइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमार्फत आफूले व्यापार व्यवसाय गर्दा झेल्नु परेका समस्यालाई उल्लेख गरेका थिए । उनले ठूलाठूला ब्यापारीको नामसमेत उल्लेख गरेका छन ।