जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १४:३०

गृहमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ सकियो, के आउँला फैसला ?


काठमाडौं, माघ १३ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । आज गृहमन्त्री लामिछाने पक्ष र विपक्षीका केही कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

लामिछानेका तर्फबाट ४ जना कानुनव्यवसायीले बहस गरेका थिए । कानुन व्यवसायी नरेन्द्र केसी, आशिष अधिकारी, सुदिप पन्थ र यज्ञमणि न्यापानेले लामिछाने पक्षमा बहस गर्नुभएको थियो । यस्तै रिट निवेदकका तर्फबाट कानुनव्यवसायी सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, कीर्तिनाथ शर्मा पौडेललगायतले बहस गर्नुभएको थियो ।

मुद्दाको फैसला आजै आउन सक्ने रविको विपक्षमा बहस गरेका कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारबाट लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको थियो । बुधबार मुद्दामाथिको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहनुभएको छ ।

यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नतोक्नेगरी मुद्दाका रूपमा राख्न लगाएको थियो । अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।