जनता टाइम्स

१४ माघ २०७९, शनिबार १८:०४

रवि लामिछाने नागरिकता लिएर उपचुनाव लडन सक्नुहुन्छ : सुवास नेम्वाङ


काठमाडौं, माघ १४ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेमाथिको सर्वाेच्च अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताउनु भएको छ ।

पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपाध्यक्ष नेम्वाङले यस्तो बताउनु भएको हो । ‘कानूनबमोजिम जो कोहीमाथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रूपमा होइन, स्वभाविक रुपमा लिनुपर्छ,’ नेम्वाङले भन्नुभयो ।उहाँले अदालतको फैसलाअनुसार नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताउनु भयो ।

उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार खडा गर्ने र सोही उम्मेदवारको नाममा राष्ट्रिय सहमति खोज्ने बताउनु भयो । राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएकोले एमाले नै उम्मेदवार खडा गर्ने उहाँको भनाई थियो ।

राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको उहाँले जानकारी दिनुभयो । नेम्वाङले यस विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको बताउनु भयो ।