जनता टाइम्स

१४ माघ २०७९, शनिबार १८:१३

कांग्रेसको त्यो कोसिस सार्थक हुनेवाला छैन : प्रदीप ज्ञवाली


पाल्पा, माघ १४ । नेकपा एमालेका उपमहाचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा धमिलो पानीमा माछा मार्न खोजेको बताउनु भएको छ ।

सत्ता गठबन्धनको सहमति अनुसार एमालेबाटै राष्ट्रपतिमा हुनेमा आफू ढुक्क रहेको बताउँदै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो । उहाँले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको आधारमा राष्ट्रपति पदमा सम्झौता नगरेको बताउनु भयो ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै ज्ञवालीले माओवादीको बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने भन्ने विषय उठेको चर्चा चलेपनि कांग्रेसबाट राष्ट्रपति हुन नसक्ने बताउनु भयो । ‘राष्ट्रपति निर्वाचनका विषयमा छलफलहरु हुन सक्छन,’ ज्ञवालीले भन्नुभयो, ‘प्रतिपक्षीको हैसियतले कांग्रेसले कोसिस गर्नु एउटा कुरा होला तर त्यो कोसिस सार्थक हुनेवाला छैन ।’

ज्ञवालीले अहिलेको सत्ता गठबन्धनलाई कमजोर गराउने कुनै पनि प्रयास सफल नहुने बताउनु भयो । सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने ठोकुवा गर्दै ज्ञवालीले थप्नुभयो, ‘सत्तालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा नै कांग्रेसले सबै पद गुमाएको हो । अझै पनि धमिलो पानीमा माछा मार्ने दाउमा लागेको छ । त्यसैले राष्ट्रपतिको दाउ ताकेको हुन सक्छ ।’

सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति पद नपाउने उहाँको भनाई छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा गरेको हुनसक्ने उहाँको भनाई छ । ‘कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन । पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्नेमा कुनै शंका छैन,’ ज्ञवालीले भन्नुभयो ।

उहाँले सत्तागठबन्धका दलप्रति एमाले सशंकित नरहेको पनि बताउनु भयो । ‘कांग्रेस सत्ता पक्ष बन्न त सकेन नै, मुलुकको विडम्बना प्रतिपक्ष बन्न पाउँ भन्दै संसद् सचिवालयमा निवेदन दिनु इतिहासमै अचम्मको घटना भएको छ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।