जनता टाइम्स

१४ माघ २०७९, शनिबार १८:१४

पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ


जनकपुरधाम, १४ माघ । धनुषा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो र सोही ठाउँका २६ वर्षीय शंकर महतो छन् ।

पेस्तोल बोकेर हिँडिरहेको सूचनाका आधारमा मिथिला नगरपालिका–२ नक्टाझिझको विश्वकर्मा चोकस्थित रोशनलाई चेकजाँच गर्दा माउजर पेस्तोल र सो पेस्तोलमा लोड गरिएको म्यागेजिन एक थान र म्यागेजिनमा लोड भएको केएफ दशमलव ६५ उल्लेख भएको दुई थान गोली बरामद भएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिनुभयो ।

माघ १२ गते रोशन पक्राउ परेको र उनले दिएको बयानका आधारमा पेस्तोल बिक्री गरेका शंकरलाई समेत पक्राउ गरेको एसपी खड्काले बताउनुभयो । शंकरबाट रोशनले शंकरलाई ५० हजार नगद दिएको र पछि २० हजार रुपैयाँ दिने सहमतिमा पेस्तोल खरिद गरेको प्रहरीको भनाइ छ ।