जनता टाइम्स

१५ माघ २०७९, आईतवार १०:१६

नागरिक उन्मुक्ति प्रवेशपछि एलिजाको भनाई : ठूला दलले बोलाएका थिए विचार मिलेर यता आएँ


रुपन्देही, माघ १५ । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । तराईमा खासगरी थारु बाहुल्य क्षेत्रमा नयाँ खुलेको पार्टीमा एलिजा प्रवेश गर्नुभएको हो ।

गौतमलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले पार्टीमा भित्र्याउनु भयो । अध्यक्ष रञ्जिताले गौतमलाई पार्टी प्रवेश गराउँदै महत्त्वपूर्ण जिम्मेवारी दिने बताउनु भयो । उहाँले एलिजालाई दिने जिम्मेवारी टुंगो नलागेको जनाउनु भयो ।

एलिजाले मुलुकका ठूला राजनीति दलहरूबाट आफूलाई पार्टीमा प्रस्ताव आए पनि उन्मुक्ति पार्टीको एजेण्डाले आफूलाई तानेको बताउँदै सामाजिक लोकतन्त्र र थारू अधिकार बोकेको नागरिक उन्मुक्ति पार्टीका विचारधारा आफूलाई मन परेपछि पार्टीमा जोडिएको जनाउनु भयो ।

‘हाम्रो राजनीतिक सक्रियताले आवाजविहीनहरूको आवाज बोल्नेछ । हामी बेसहाराहरुको सहारा बन्नेछौँ । जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा हाम्रा पाइला चल्नेछन् । हामी हाम्रो पार्टीले बोकेको उद्देश्य पूरा नहोउन्जेलसम्म अहोरात्र खटिइरहनेछौं । म सेवाको भावले नै राजनीतिमा हाम फालेको हुँ । यसमा म आफूलाई खरो रुपमा प्रस्तुत गर्नेछु । भुईं मान्छेहरुका आवाजलाई बुलन्द बनाउनु हामी सबैको कर्तव्य हो,’ एलिजाले भन्नुभयो । एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुनुहन्छ ।