जनता टाइम्स

१५ माघ २०७९, आईतवार १६:२४

रवि लामिछानेले पाए पुरानै मितिको नागरिकता


काठमाडौं, माघ १४ । सर्वाेच्चको आदेशसँगै सांसद र उपप्रधानम तथा गृहमन्त्री गुमाउनु भएका रवि लामिछानेले पुनः नेपाली नागरिकता लिनुभएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गर्नुभएको हो । ’उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनः प्राप्त गर्नु भएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भन्नुभयो ।

लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो ।

यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बस्नुभएका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आउनु भएको थियो । त्यसपछि उहाँ नेपालमै बस्नुभएको हो ।

२०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिनुभएका लामिछानेले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराउनु भएको थियो । तर नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गर्नुभएको थिएन ।

कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आउनु भएको थियो ।

त्यही नागरिकता प्रयोग गरेर उहाँले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुभएको थियो । चितवन–२ बाट चुनाव जितेर सांसद र गृहमन्त्रीसमेत बन्नुभएको थियो । तर, उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै पदमुक्त हुने फैसला गरेको थियो । फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।

सर्वोच्चको फैसपापछि लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गर्नुभएको हो । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हाल्नुभएको थियो । सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो ।

नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने कानुनी व्यवस्था छ । सोही आधारमा अदालतले लामिछानेले पुनः नागरिकता लिनुपर्ने फैसला गरेको हो ।