जनता टाइम्स

१५ माघ २०७९, आईतवार १९:०३

काठमाडौं आइपुगिन अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड


काठमाडौं, माघ १५ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुग्नु भएको छ । उपमन्त्री नुल्यान्ड राष्ट्रपति निवाससमेत रहेको वासिङ्टन डिसीबाट सिधै नेपाल आउनु भएको हो ।

नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपाल सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको छ । उपमन्त्री नुल्यान्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भइसकेको छ । अन्य भेटवार्ताको टुंगो लागिसकेको छैन ।

काठमाडौंस्थित अमेरिकी दूतावासको अनुसार उपमन्त्री नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग भेटवार्ता हुनेछ । दूतावासले अमेरिकी सरकारले नेपालको ‘युनिक’ सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि विदेशबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । ३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गर्नुभएकी उपमन्त्री नुल्यान्डले राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको बेलामा सन २०१३ देखि २०१७ सम्म युरोपेली र यूरेसियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गर्नुभएको थियो ।

उपमन्त्री विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्लु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) को लागि अमेरिकी राजदूतको रुपमा काम गर्नुभएको थियो ।