जनता टाइम्स

१५ माघ २०७९, आईतवार १९:१८

कांग्रेसले निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्धतिको धज्जी उडायो : प्रदीप ज्ञवाली


गुल्मी, माघ १५ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको ठोकुवा गर्नुभएको छ ।

नेकपा एमाले गुल्मीको छैठौं पूर्ण बैठकलाई तम्घासमा आइतबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमालेबाटै राष्ट्रपति बनाउने सहमतिमा नेकपा माओवादी केन्द्र पछि नहट्ने पनि बताउनु भयो ।

राष्ट्रपति निवास शितलनिवासमा सरकारका लागि दाबी पेस गर्दा राष्ट्रपति र सभामुख एमालेलाई, प्रधानमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमतिमा अरु दल पनि राजी भएको उहाँको भनाई छ । पुस १० गते भएको उक्त सहमतिका आधारमा पनि नेकपा नेकपा माओवादी केन्द्र आफ्नो निर्णयमा पछि नहट्ने ज्ञवालीले बताउनु भयो ।

‘सरकारको लागि शितलनिवासमा दाबी पेस गर्दा प्रधानमन्त्री पद नेकपा माओवादी केन्द्रलाई, एमालेलाई राष्ट्रपति र सभामुख दिने भन्दा अरु दल साक्षी छन् म प्रष्टताका साथ भन्छु, ’ ज्ञवालीले भन्नुभयो, ‘त्यस आधारमा माओवादी यो सहमतिमा ब्याक हुँदैन । सभामुखमा जस्तो निर्णय हुन्छ । म तलमाथि हुँदैन भन्ने कुरामा विश्वस्त छु ।’

ज्ञवालीले नेपाली कांग्रेसले दुई दलका बीचमा ’खेल्न खोज्नु’ स्वभाविक भएको तर प्रतिपक्षमा बसेर सत्तामा भाग खोज्ने कुरा आश्चर्यजनक भएको बताउनु भयो । ‘कांग्रेसले खेल्न खोज्नु स्वभाविक हो तर कांग्रेस प्रतिपक्षमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक कुरा हो, कांग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको छ,’ ज्ञवालीको भनाई थियो ।

बिभिन्न शक्ति केन्द्रहरुले राष्ट्रपति आफू अनुकुल ल्याउनका लागि चलखेल भइरहेको खुलासा पनि गर्नुभयो । बैठकमा संबोधनको क्रममा उहाँले बर्तमान सरकार बनेपछि सवै क्षेत्रमा सकारात्मक संकेतहरु देखा परेको बताउनु भयो । सरकारले प्रदेशका मन्त्रालयहरुको संख्या घटाएर राम्रो सन्देश दिएको पनि उहाँको भनाइ थियो ।

‘यो सरकारले सन्देश राम्रो दिएको छ, न्यूनतम सझा कार्यक्रम राम्रो छ, शेयरबजारमा राम्रो संकेत दिएको छ,’ ज्ञवालीले भन्नुभयो, ‘व्यवसायमा राहत महशुस देखिएको छ, सत्ता टिकाउन यसअघि प्रदेशमा झ्यालमा मन्त्रालय रहेको अवस्थामा अहिले १६ मन्त्रालय घटाएर सुरूवाती सन्देश दिएको छ ।’

उहाँले नेकपा एमालेको पहलकदमीमा बर्तमान सरकार बनेकोले यस्ले हरेक क्षेत्रमा सुधारको काम गर्ने पनि बताउनु भयो ।