जनता टाइम्स

१६ माघ २०७९, सोमबार १९:१५

राष्ट्रपति एमालेकै हुन्छ, कांग्रेसले थापेको ढडियामा माछा पर्दैन : पृथ्वीसुब्बा गुरुङ


लमजुङ, माघ १६ । नेकपा एमालेका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने प्रष्ट पार्नुभएको छ ।

लमजुङको सुन्दरबजारमा आज आयोजित तिलकराज पाण्डेको १८औं स्मृति दिवसलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले यस्तो बताउनु भएको हो ।

उपमहासचिव गुरुङले पहिलो आधा कार्यकाल माओवादी केन्द्र प्रधानमन्त्री र दोस्रो आधा कार्यकाल एमालेको सभामुख, दोस्रो आधा कार्यकाल एमालेको प्रधानमन्त्री र माओवादी केन्द्रको तर्फबाट सभामुख हुने र ५ वर्ष राष्ट्रपति एमालेकै हुने सहमति भएको बताउनु भयो ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुन्छ,’ उहाँले भन्नुभयो । दाहाल प्रधानमन्त्री हुनेबेला दुई अध्यक्षबीच राष्ट्रपति एमालेकै बनाउने सहमति भएको उपमहासचिव गुरुङले बताउनु भयो ।

‘कांग्रेसले जाल हान्ने काम गरेको छ । ढडिया थाप्ने काम गरेको छ । कतै ढडियामा माछा परिहाल्छ कि भनेर । तर त्यो सम्भावना छैन,’ गुरुङले भन्नुभयो । राष्ट्रपतिको विषयलाई लिएर राजनीति तरंगित भएको र आफूलाई समेत के हुन्छ ? भनेर नेता÷कार्यकर्ताबाट बारम्बार फोन आइरहेको भन्दै उहाँले परिणाम कांग्रेसको लागि दुःखदायी हुने बताउनु भयो ।

उपमहासचिव गुरुङले राष्ट्रियताको पक्षमा स्वाधीनताको पक्षमा लड्ने शक्ति फेरि सत्तामा आएको ठोकुवा पनि गर्नुभयो । ‘नेपालको राजनीतिक उथलपुथल देखेर दिल्ली चकित प¥यो। वासिङ्टन चकित पर्यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठाउँमा कसरी प्रचण्ड प्रधानमन्त्री भए भनेर ?,’ उहाँले भन्नुभयो, ‘त्यसपछि घेराबन्दी, अविश्वास र झगडा सुरु पार्न खोजिँदै छ । जाल फ्याँक्न खोजेको छ । कांग्रेसको प्रयास विफल हुन्छ ।’