जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १२:४३

रविको प्रस्ताव प्रधानमन्त्रीले गरे ठाडै अस्वीकार


काठमाडौं, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले गृह मन्त्रालय रास्वपालाई दिन नसकिने बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज भएको भेटबार्तामा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा लामिछानेले साँझसम्म यसअघि सरकार बनाउने बेला भएको समझदारी अनुसार गृह मन्त्रालय रास्वपालाई दिन र शपथग्रहण गराउन आग्रह गर्दा प्रधानमन्त्रीले अर्काे मन्त्रालय लिन भन्नुभएको हो । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र चर्काे दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ ।

गृह मन्त्रालयमा बरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आफै जान चाहिरहनु भएको छ । पार्टीभित्रकै दवावका कारण प्रधानमन्त्री रास्वपालाई गृह मन्त्रालय दिन आनाकानी गर्दै आउनु भएको छ । रास्वपा अध्यक्ष लामिछानेको राहदानी सम्बन्धी विवाद कायम रहेको र गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने तर्क प्रधानमन्त्रीबाट आएको छ । रविले भने गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

नेपाली कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै गृह मन्त्रालय पाए कांग्रेस सरकारमा सहभागी हुने बताएपछि प्रधानमन्त्री प्रचण्ड रास्वपालाई यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय नदिने मुडमा पुग्नुभएको र उहाँलाई श्रेष्ठसहितका माओवादी नेताहरुले दवाव दिएको बताइएको छ । कांग्रेसले सत्ता साझेदारीका लागि पर्खेर बसिरहेका कारण सकेसम्म गृह मन्त्रालय रविलाई नदिने प्रधानमन्त्रीको प्रयाश रहेको स्रोतको भनाई छ ।

यद्यपी यो सरकारमाथि संकट आएमा कांग्रेसकै नेतृत्वको सरकार गठन हुने संबैधानिक ब्यवस्थातिर प्रधानमन्त्री दाहालले नजरअन्दाज गरेको देखिएको छ । कांग्रेस प्रचण्डलाई भुलभुलैयामा पारेर सरकारमाथि संकट ल्याउने र संबिधानको धारा ७६ को उपधारा ३ अनुसार सवैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाएर माओवादीलाई नै पिछलग्गु बनाउने दक्षिणको योजना कार्यान्वयनतिर लागेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेसको यो षडयन्त्र बुझन नसकेको र सत्ता गठबन्धनभन्दा कांग्रेसतिर बढी लचिलो बन्न थालेको बिश्लेषण पनि भइरहेको छ । प्रधानमन्त्री दाहालको यो कदमलाई सत्ता गठबन्धनका नेताहरुले आफ्नै सरकार ढाल्न प्रधानमन्त्री आफै अग्रसर भएको अर्थमा बुझेका छन । सत्ता गठबन्धनका प्रमुख नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई सरकारमाथि अबिश्वस वा संकट आउने गरी कुनै पनि कदम नचाल्न सुझाव दिइसक्नु भएको छ ।